
भैरहवा, ६ फागुन । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्ने दुई जना सुरक्षा गार्ड (कर्मचारी) लाई प्रहरीले पक्राउ गरेको छ ।
अखिल भारतीय विद्यार्थी परिषद्को आरोपपछि इन्फोसिटी प्रहरीले नेपाली विद्यार्थीलाई कुटपिट गरेको आरोपमा दुई जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको ओडिसा टिभीको अनलाइन संस्करणले जनाएको छ । विद्यार्थीलाई कुटपिट गरेको भीडियो प्रमाण बावजुद संग्लन सुरक्षागार्डको पहिचान गोप्य राखिएको बताइएको छ ।
Advertisement

Advertisement
Advertisement

केआईआईटीमा बीआइटी तेस्रो वर्षमा अध्यनरत प्रकृतिको आइतबार मृत अवस्थामा शव फेला परेको थियो । भुवनेश्वर स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा मंगलबार (आज) शवको पोष्टमार्टम गरिने बताइएको छ । घटनापछि कलेज प्रशासनलाई नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्दै कलेज छाड्न दवाव दिएको थियो । जसकारण उनीहरुले कलेज छाड्दा रेल र बस स्टेशनमा अलपत्र परेका थिए । त्यसपछि कलेज प्रशासनले विद्यार्थीहरुलाई फर्किने अपिल गरेको छ । तर, विद्यार्थीहरुले घटनासँग सम्बन्धित आठ बुँदे शर्त राखेका छन् ।
यता केआईआईटीले विज्ञप्ति जारी गर्दै दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी गराएको छ ।
‘दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ,’ कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई वरिष्ठ होस्टेल अधिकारीहरु र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको छ ।’
घटनाको अनुसन्धान र शान्ति सुरक्षा कायम गर्न विश्वविद्यालयमा ठुला संख्यामा प्रहरी बल तैनाथ गरिएको छ ।

