


भैरहवा, ६ फागुन । भारतको ओडिसा राज्य प्रहरीले केआईआईटी विश्वविद्यालयका थप तीन जना कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले यस अघि मंगलबार बिहान दुई जना सुरक्षा गार्ड रमाकान्त नायक र जोगेन्द्र बेहरालाई पक्राउ गरेको थियो ।
विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्यु पछि नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्दै कलेज छाड्न दवाव दिईएको थियो। घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको भुवनेश्वर प्रहरीले जनाएको छ।

ओडिसा टेलिभिजनको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार प्रहरीले मंगलबार साँझ विश्वविद्यालयका मानव संशाधनमा कार्यरत महानिर्देशक ५९ वर्षीय शिवानन्द मिश्र, प्रशासन निर्देशक ५१ वर्षीय प्रतापकुमार चम्पति र छात्राबास निर्देशक ५९ वर्षीय सुधिर कुमार राठलाई पक्राउ गरेको छ ।
घटनाको आरोपमा विश्वविद्यालयका विद्यार्थी अद्विक श्रीवास्तबलाई प्रहरीले सोमबार नै पक्राउ गरेर अनुसन्धान थालिसकेको छ। राज्य सरकारले मंगलबार घटनाबारे छानविन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ ।

