


वासिङटन सिटी, २७ चैत। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुमा थप ५० प्रतिशत कर लगाएका छन् । यससँगै चीनमाथिको कुल भन्सार कर १०४ प्रतिशत पुगेको छ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उक्त कर थप गरिएको विषय उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘चीनले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो।’

आफ्नो दोस्रो कार्यकालको सुरुमा ट्रम्पले चीनमा २० प्रतिशत कर लगाएका थिए। त्यसपछि जब ट्रम्पले सम्पूर्ण विश्वमा कर लगाउने घोषणा गरे चीनमा थप ३४ प्रतिशत कर लगाइयो। अहिले थप ५० प्रतिशत भन्सार महसुल थपेपछि कुल कर १०४ प्रतिशत पुगेको छ।
ट्रम्पले सोमबार नै यदि चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता नलिएमा चीनमाथि थप ५० प्रतिशत कर लगाउने बताएका थिए।
ट्रम्पको भनाइको जवाफमा चीनको वाणिज्य मन्त्रालयले अमेरिकी ‘ब्ल्याकमेल’ स्वीकार नगर्ने र यसको विरुद्ध अन्त्यसम्म लड्ने बताएको छ। बीबीसीको सहयोगमा

