
लक्ष्मण पोखरेल
लुम्बिनी,२९बैशाख। भारत र पाकिस्तानबीच गोलाबारुद्ध हानाहान भयो। तर,लुम्बिनीमा शान्तिका लागि सयौं दीप प्रज्वलन भए। बुद्ध जयन्तीको पूर्वसन्ध्यामा नेपाल र भारतको बौद्ध सम्पदाको विषयमा गोष्ठी गरियो। भारतीय प्रतिनिधिहरु दीप प्रज्वलनमा सहभागी भए।
लुम्बिनीमा हरेक पूर्णिमाका दिन शान्तिको कामना गर्दै हजारौं दीप प्रज्वलन गर्ने गरिन्छ। बुद्धजयन्तीको सन्दर्भमा चिनियाँ मन्दिर लुम्बिनीले बुद्धको बाल्यकालीन मूर्तिनजिकै हजारौं दीपहरु बालेर शान्तिको सन्देश फैलायो। दुई साताअघि मात्रै चिनियाँ संस्कृति प्रबर्धन सोसाइटीले पहिलो बुद्धिस्ट फेस्टिभलको आयोजना गर्यो। जसमा ४० देशका बौद्ध भिक्षु तथा अनुयायीहरुको सहभागिता रह्यो।
Advertisement

Advertisement
Advertisement

थाइल्यान्डका थाइविहार र धम्मकाय संस्थाले लुम्बिनीमा ५ सय अल्पकालीन भिक्षुहरुको प्रवज्या सहितको बौद्ध त्रिपिटक उच्चारण कार्यक्रमको आयोजना गरे। अखिल नेपाल भिक्षु महासंघको समन्वयमा भएको कार्यक्रममा कैयौं देशका सयौं भिक्षु, भिक्षुणी र अनुयायीहरुको उपस्थिति रह्यो भने शान्तिको कामना गर्दै ८ हजार बढी दीप एकैपटक प्रज्वलन गरिए।
पछिल्लो वर्षमा लुम्बिनीबाट शान्तिको सन्देश फैलाउने गतिविधिहरु बढ्दै गएका छन्। जसकारण लुम्बिनीमा बौद्ध अनुयायीहरुको उपस्थितिसमेत बाक्लिदै गएको लुम्बिनी विकास कोषको तथ्यांकले देखाउँछ। विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बौद्ध सांस्कृतिक गतिविधिहरु हुँदा लुम्बिनीमा आउने पर्यटकको संख्या उच्च दरमा वृद्धि भएको छ।
लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय शैक्षिक सेमिनारहरुले पनि बौद्ध शिक्षाको प्रबद्र्धनमा महत्वपूर्ण योगदान गरेको अध्येताहरु बताउँछन्। लुम्बिनी बौद्ध विश्वविद्यालयका सहप्राध्यापक डा. सागर न्यौपानेले प्राज्ञिक सेमिनारबाट बौद्ध शिक्षाको प्रबर्धनका साथै पर्यटन आवागमनमा पनि वृद्धि हुने बताए। लुम्बिनीमा आउने हरेक पर्यटकलाई शान्ति दूतका रुपमा पठाउनुपर्ने उनले बताए।
प्राचीनकालदेखि नै शान्ति खोज्दै लुम्बिनी
लुम्बिनी बुद्धको जन्मस्थल रहेको तथ्य पुष्टि भइसकेको छ। लुम्बिनीमा बुद्ध जन्मेको तथ्य राख्ने पहिलो तीर्थयात्री सम्राट अशोक थिए। गृहयुद्धबाट हजारौंको ज्यान लिएका अशोक शान्ति चाहन्थे। बुद्धको महापरिनिर्वाणपछि अशोक सम्राट पहिलो पटक बुद्धस्थलको भ्रमण गर्न आएका थिए। जसले बुद्ध जन्मेको तथ्य शिलास्तम्भमा लेखेर राखिदिए। उनी राज्यभिषेकको २०औं वार्षिकोत्सव पारेर लुम्बिनीमा आएका थिए। इसा पूर्व तेस्रो शताब्दीका सम्राट अशोक बुद्ध धर्मप्रति गहिरो श्रद्धा राख्ने महान् सम्राट थिए। उनी बुद्धको जीवनसँग सम्बन्धित स्थलहरुको खोजीमा निस्कँदा लुम्बिनी आइपुगे। त्यसबेला लुम्बिनी एक सानो, शान्त, हरियालीले ढाकिएको गाउँजस्तै थियो, ‘लुम्बिनीग्राम’ भनेर चिनिने।
अशोकले यहाँ आएपछि लुम्बिनीलाई महत्वपूर्ण तीर्थस्थलका रुपमा मान्यता दिए। उनले एक प्रसाद (अशोकस्तम्भ) निर्माण गराए र त्यसमा शिलालेख (ब्राह्मी लिपिमा) लेखाइदिए। शिलालेख अनुसार लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल हो भनेर प्रमाणित गरियो, गाउँमा कर तिर्ने व्यवस्था हटाइयो वा न्यून गरियो।
जतिबेला अशोक लुम्बिनी आएका थिए। लुम्बिनी बगैंचाजस्तै हराभरा क्षेत्र थियो, खेतीपाती र साधारण गाउँले जीवनशैली थियो। सहर थिएन।
‘देवानामपिय पियदसि लाजिय (राजा) स्वयं लुम्बिनीमा आए र यहाँ बुद्ध जन्मेको हुँदा उनले पूजा गरे। यस ठाउँको कर कम गरियो।’ यही पहिचानले लुम्बिनी विश्वभर फैलिइरहेको छ। अशोकलाई बौद्ध दर्शनलाई विश्वव्यापी फैलाउने पहिलो व्यक्तिका रुपमा इतिहासमा चर्चा गर्ने गरिएको छ।
अशोकले राखेको स्तम्भ देख्ने तीर्थयात्री हुन्, फासियान। चिनियाँ यी भिक्षु ६२ वर्षको उमेरमा चीनको चांगबाट तीर्थयात्रा लागि निस्किए। इसाको चार सयतिर बौद्ध ग्रन्थको खोजीमा लुम्बिनीका लागि हिँडेका उनी ६ वर्षपछि कपिलवस्तुको तिलौराकोट हुँदै आइपुगे। बुद्धस्थल देखे। ‘यहाँ (लुम्बिनी) बुद्ध जन्मिएका थिए। जन्मस्थलमा एक ठूलो पत्थरको स्तम्भ छ, जसमा एक घोडाको मूर्ति बनेको थियो। वरिपरि शान्त छ। एउटा तलाउ पनि छ, जहाँ रानी मायादेवीले नुहाएकी थिइन्, फासियानले आफ्नो यात्रा वर्णनमा लेखेका छन्।
फासियानको यात्रा वर्णन पढेपछि लुम्बिनी घुम्न आएका अर्का चिनियाँ तीर्थयात्री हुन्, ह्वेनसाङ। सन् ६३० तिर आएका उनले आफ्नो यात्रा वर्णनमा लुम्बिनीको अवशेष र अशोकस्तम्भको वर्णन गरे। जतिबेला लुम्बिनी बुद्धको जन्मस्थलको रुपमा सम्मानित भइसकेको थियो तर त्यो समय विकसित सहर होइन, प्राकृतिक सौन्दर्य र साधारण गाउँ थियो।
सातौं शताब्दीमा चिनियाँ अर्का तीर्थयात्री यी चिङ लुम्बिनी आएका थिए। उनले लुम्बिनीसहित अन्य स्थलहरुको पनि भ्रमण गरे। त्यस यताको लगभग १२ सय वर्ष लुम्बिनी गुमनामजस्तै भयो। संस्कृतिविद् प्रा.डा. गितु गिरी भन्छन्, ‘लुम्बिनी त्यस बीचमा कुन अवस्थामा थियो भन्ने स्पष्ट तथ्य भेटिदैन, जब अशोक स्तम्भ फेला पर्यो लुम्बिनी भेटियो, यसको अनुसन्धान र तीर्थ आउनेको संख्या बढ्दै गयो।’
धेरै शताब्दीअघि, जब बुद्धको शिक्षाले एसियाका दर्जनौं देशले उज्यालो पाएका थिए, लुम्बिनी भने बिस्तारै इतिहासको धुवाँभित्र हराउँदै थियो।
फासियान र ह्वेनसाङ जस्ता यात्रुहरुले आफ्नो समयको लुम्बिनीको वर्णन गरेका थिए, तर समयसँगै युद्ध, प्राकृतिक प्रकोप र धार्मिक परिवर्तनले गर्दा यो पवित्र स्थल भुलियो। लुम्बिनी जंगल, बगर र विस्मृतिमा हराएको थियो। मान्छेहरुलाई थाहा थिएन-बुद्धको जन्मभूमि वास्तवमा कहाँ थियो?
अनि आयो सन् १८९६। नेपालको तराईमा एक साँझ सूर्यास्तको सुनौलो घाम झर्दै गर्दा, काठ काट्नेहरुले अजंगरको ढुंगाको स्तम्भ देखे। पाल्पाका बडाहाकिम खड्गशमशेर राणाले खबर पाए। जतिबेला एक जना जर्मन पुरातत्वविद् डा.अन्तोन फुहरर बुद्ध जन्मस्थलको खोजीमा हिँडिरहेका थिए। उनीहरु पुराना लिपिहरु, मूर्तिहरु र भग्नावशेषहरुको आधारमा बुद्धसँग सम्बन्धित स्थलहरु पहिचान गर्न चाहन्थे।
अचानक भेटिएको एउटा पुरानो ढुंगाको स्तम्भ, जसको माथिल्लो भाग भाँचिएको थियो, तर बाक्लो घाँस र बुट्यान हटाउँदा स्तम्भमा केही लेखिएको देखियो-पुरानो ब्राह्मी लिपिमा। त्यही लिपिभित्र थियो, अशोकले राखेको प्रमाण।
बुद्ध जन्मस्थलको पहिचानको सनसनी खबर विश्वभर फैलियो। अन्वेषकहरु लुम्बिनी आएर उत्खनन गर्न थाले। जहाँ अशोककालिन इँटाले बनाएको प्राचीन मन्दिर भेटियो। बौद्ध ग्रन्थमा लेखिएको मायादेवीले नुहाएको पोखरी देखियो।
सन् १८९६ को खोजपछि डब्लू सी पेप्पे सहितका केही ब्रिटिस पुरातत्वविद्हरुले लुम्बिनीको अध्ययन सुरु गरे। उनीहरु तीर्थयात्रासहित अध्ययनमा जुटे। सन् १९६० मा युनेस्कोको सहयोगमा लुम्बिनीको अन्वेषणले द्रुत गति लियो।
सन् १९६७ मा संयुक्त राष्ट्रसंघका महासचिव उ थान्त लुम्बिनी भ्रमणमा आए। लुम्बिनी भ्रमण गर्नेमा आधुनिक कालका उनी सशक्त व्यक्ति हुन्। वरिष्ठ पुरातत्वविद् प्राध्यापक वसन्त बिडारी भन्छन्, उ थान्तको भ्रमणपछि नै लुम्बिनीले विकासको यात्रा तय गर्न सक्यो। उनकै कारण लुम्बिनी विश्वभर फैलियो।’ शान्तिको खोजीका लागि उ थान्तको लुम्बिनी भ्रमण रहेको भन्दै बिडारीले उ थान्तले विश्वभर शान्तिको सन्देश फैलाउनका लागि लुम्बिनीको विकासमा चासो दिएको बताए।
उ थान्त आउँदा लुम्बिनी जीर्ण थियो। उनले लुम्बिनी विकासको अन्तर्राष्ट्रिय पहल थाले। सन् १९७१–७८ मा जापानी आर्किटेक्ट केन्जो टांगेले लुम्बिनी गुरुयोजना तयार गरे। यसै योजनाअनुसार नै लुम्बिनीलाई एक अन्तर्राष्ट्रिय शान्ति सहर बनाउने लक्ष्य तय भयो। त्यही शान्ति सहर हेर्न नै झन्डै दुई करोड आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी आएका छन्।
गुरुयोजनाको ८० प्रतिशतभन्दा बढी कार्य सकिएको छ। सरकारले लुम्बिनी विकासमा चासो दिए पनि तुलनात्मक रुपमा गुरुयोजनाको कार्य अघि बढ्न सकेको छैन।
झन्डै २ करोड अनुयायी लुम्बिनीमा
पछिल्लो १३ वर्षमा बुद्ध जन्मस्थल लुम्बिनीको १ करोड ६१ लाख पर्यटकले भ्रमण गरेको तथ्यांक छ। लुम्बिनी पहिचानको एक सय वर्षपछि सन् १९९७ मा विश्वसम्पदा सूचीमा समावेश भएपछि पर्यटनमा टेवा पुगेको पर्यटन व्यवसायीहरु बताउँछन्। लुम्बिनी विकास कोषले सन् १९९४ देखि तेस्रो मुलुकबाट आएर लुम्बिनी भ्रमण गर्नेको तथ्यांक राखेको छ। तथ्यांक अनुसार सन् १९९४ मा २० देशबाट २० हजार ९ सय ७२ जना तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। सन् २०२४ मा यो संख्या १ लाख ११ हजार ४ सय ३ पुगेको छ। तीन वर्षमा पर्यटक आवागमनको संख्या पाँच गुणाले वृद्धि भएको छ। यो संख्या कोरोना सुरु हुनुअघि सन् २०१९ मा झन्डै नौ गुणा बढी १ लाख ७४ हजार थियो।
सन् २०२४ मा लुम्बिनी भ्रमण गर्ने सशक्त व्यक्तिमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेस र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हुन्।
प्रभावशाली पर्यटकको लुम्बिनी भ्रमण हुँदा अन्य पर्यटकको संख्यामा वृद्धि हुने अनुभव लुम्बिनीका होटेल व्यवसायी पुरुषोत्तम अर्यालसँग छ। ‘भारतका प्रधानमन्त्रीले लुम्बिनी भ्रमण गरेपछि भारतीय पर्यटक निकै बढेको देखिन्छ, उनले अनुभव सुनाए।
पर्यटक आवागमनको तथ्यांक हेर्दा सन् २०२३ मा भारतीय पर्यटकको संख्या २ लाख ६६ हजार थियो भने अर्को वर्ष ३ लाख १ हजार रहेको छ। आधुनिक लुम्बिनी सानो विश्वकै रूपमा विकास भएको छ। लुम्बिनीमा विभिन्न २७ देशका बौद्ध संस्कृति, कला झल्किने विहारहरु बनेका छन्। ती देशहरुबाट बौद्ध संस्कृति प्रदर्शनी हुने गरेको छ। जसले सिंगो विश्वको बौद्ध संस्कृतिलाई एकस्थानमा ल्याएको छ।
पछिल्लो समयमा बौद्ध मुलुकहरुबाट पर्यटकको आवागमन संख्यामा वृद्धि हुँदा पर्यटन व्यवसायमा लगानी उच्च दरमा बढेको छ। लुम्बिनीको पर्यटनलाई केन्द्रविन्दुमा राखेर झन्डै २ सय अर्ब लगानी निजी क्षेत्रबाट गरिएको छ। यो लगानीबाट लुम्बिनी, बुटवल, भैरहवा, कपिलवस्तु क्षेत्रमा स्तरीय तारे होटेलहरुको संख्यामा उच्च वृद्धि भएको छ। होटेल व्यवसायी सीपी श्रेष्ठका अनुसार होटेल व्यवसायको लगानी अभूतपूर्व भइरहेको छ।
नेपालका ठूला लगानीकर्ताहरु लुम्बिनीतर्फ मोडिएका छन्। होटेलमा भएको लगानीमा १२ जिल्लाका ११ हजार व्यवसायीहरुको सहभागिता रहेको छ। जसबाट ६० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्।
लुम्बिनीको पर्यटनले कृषि उपजको खपतदेखि हस्तकला, मूर्तिकला व्यवसायलाई पनि उचाइमा पुरएको व्यवसायीहरु बताउँछन्। नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेल भन्छन्– देश अद्भुत रुपमा विकास भइरहेको छ। पर्यटन क्षेत्रको लगानीले नै त्यसको उत्साह देखाउँदछ।
लुम्बिनीमा २८ देशको संस्कृति
लुम्बिनीमा बौद्ध अनुयायी रहेका २८ देशका बौद्ध संस्कृति अध्ययन गर्न सकिने लुम्बिनी विकास कोषका सूचना अधिकारी बस्नेत बताउँछन्। लुम्बिनी विकास कोषभित्र थेरवाद र महायान परम्पराका बौद्ध विहार तथा गुम्बाहरु रहेका छन्। ती गुम्बाहरुले हरेक दिन सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दै आएका छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयका सहप्राध्यापक इन्द्र काफ्लेले लुम्बिनीले सम्पूर्ण विश्वलाई शान्तिको सन्देश प्रभाव गरिरहेको बताए। आध्यात्मिक एकता, बौद्ध सांस्कृति कूटनीति तथा प्राज्ञिक विकासमा लुम्बिनीले महत्वपूर्ण कार्य गरिरहेको उनको भनाइ छ।
बुद्ध जयन्तीलाई शान्तिको सन्देशलाई विश्वभर फैलाउने गरी मनाइने गरिएको विकास कोषले जनाएको छ। विकास कोषका उपाध्याक्ष ल्ह्यारक्याल लामाका अनुसार बुद्धको जन्म, ज्ञान प्राप्तिको महत्वपूर्ण दिनका रुपमा बुद्धजयन्तीलाई तीन दिनसम्म उत्सवसहित मनाईँदैछ।
बौद्ध ग्रन्थ सम्पदाको संरक्षण आवश्यक
बौद्धका उपदेशले विश्वभर शान्तिको सन्देश प्रभाह गरिहरको भन्दै बौद्ध सम्पदाहरुको संरक्षणमा विशेष ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन्। भारतीय बौद्ध संस्कृतिका विद्वान् प्रा.डा. रमेश चन्द्र गौर बौद्ध दर्शनका ग्रन्थहरुको संरक्षणमा विशेष चासो दिनुपर्ने बताउँछन्। नेपाल र भारतमा रहेका संग्राहलयमा बौद्ध ग्रन्थदेखि पुरातात्विक वस्तुहरु रहेकाले त्यसको अन्तर्राष्ट्रिय रुपमा सूचीकृत गरी संरक्षण गर्नुपर्ने उनको भनाइ छ।
त्रिपिटक, जातक, महायाना सूत्रहरु नेपाल र भारतका गुम्बा तथा विहारमा रहेकाले यस्ता दस्तावेजहरुलाई सूचीकरण गरी दीर्घकालीन संरक्षणको योजना आवश्यक रहेको गौरले बताए।
पुरातत्वविद् प्राध्यापक बिडारी पनि बौद्ध ग्रन्थ र पुरातात्विक संरचनाको विकासमा दीर्घकालिन योजना बनाउन आवश्यक रहेको बताउँछन्। लुम्बिनी त्यस्तो गाउँ हो, जनु इसापूर्वको तेस्रो शताब्दीदेखि अहिलेसम्म नाम परिवर्तन भएको छैन, बिडारी भन्छन्, ‘लुम्बिनी आफैमा निकै महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्विक क्षेत्र हो।’
लुम्बिनीले बुद्धका शिक्षाका प्रबर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको अध्येताहरु बताउँछन्। उथान्तको भ्रमणपछि लुम्बिनीले विकासको मौका पाएको अध्येताहरुको भनाइ छ। उनले १५ देशको प्रतिनिधित्वमा लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति बनाएका थिए। जसमा पाकिस्तान, अफगानिस्तानजस्ता मुस्लिम मुलुकहरु पनि सहभागी रहेका थिए। त्यसयताका वर्षहरुमा राजा महेन्द्रदेखि हालसम्मको राजनीतिक नेतृत्वले लुम्बिनी भ्रमण गरी विकासमा चासो दिएका छन्।

