


काठमाडौं,१० असार। नेपाली सेनाका सहायक रथी गौरवकुमार केसी उपरथीमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
हाल पूर्वी पृतनाका निमित्त पृतनापतिको रुपमा कार्यरत केसीले उपरथीमा बढुवा भएसँगै पूर्वी पृतनाको पृतनापतिको पूर्ण जिम्मेवारी सम्हाल्ने बताइएको छ। केही साताअघि मात्रै केसी सैनिक प्रवक्ताबाट पूर्वी पृतनामा सरुवा भएका थिए।

२०४७ सालमा रोयल नेपाली सैन्य प्रतिष्ठान, खरिपाटीबाट तालिम सम्पन्न गरी पुरानो गोरख बटालियनमा सहायक सेनानीको रुपमा सैन्य करियर सुरु गरेका केसीले साढे तीन दशक लामो सेवा अवधिमा स्वदेश तथा विदेशमा विभिन्न महत्त्वपूर्ण जिम्मेवारीहरु सम्हालेका छन्।

