
मनोरञ्जन शर्मा
शान्तिका अग्रदुत गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वमाझ चिनाउनका लागि वर्षौ जीवन बिताउनु भएका भैरहवा क्षेत्रका वरिष्ठ पत्रकार स्व. चेतन पन्त आज हामी माझ नरहेपनि सधै सम्झनामा रहनुहुनेछ। लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि उहाँ विश्वको धेरै मुलुकहरुमा गएर फोटो/भीडियो प्रर्दशनी मार्फत पुर्याउनु भएको योगदान अझै हामी सबैको मनसपाटलमा ताजै छ। जसको फलस्वरुप पनि हामी क्षेत्रवासीले उहाँलाई बिर्सिने कुरा भएन। उहाँ यस क्षेत्रको नक्षत्र हुनुहुन्थ्यो।
Advertisement

Advertisement
Advertisement

स्व.चेतन दाईसँग मेरो सामिप्यता वि.स. २०६२ मंसिरबाट सुरु भएको त्यो पहिलो भेट अझै पनि मेरो मनसपाटलमा ताजै छ। त्यस बेला म नेपाल वान टिभीमा पाल्पा, गुल्मी र अर्घाखाँचिको रिपोर्टिङ पाल्पा सदरमुकाम तानसेनमा बसेर गर्दथे। मेरो गृहजिला पनि पाल्पा नै थियो।
अचानक टिभीले हाललाई पाल्पा छोडेर बुटवलमा काम गर्नका लागि आग्रह गर्यो । र, त्यतीबेला पारिश्रमिक मासिक दश १० हजार रुपैयाँ प्राप्त हुने र अन्य सेवा सुबिधा पनि पाइने आश्वासन पछि म अर्को दिन बुटवल झरे। तर, मैले भैरहवालाई गन्तब्य बनाए।
त्यतीबेला समाचारका लागि खिचिएका क्यासेट (भिडियो फाइल) दैनिकजसो गौतमुबद्ध विमानस्थलबाट काठमाडौं पठाउनु पर्थ्यो। त्यसैले मैले भैरहवालाई गन्तव्य बनाएको थिए। साथै, मामाघर मधवलिया र ससुराली पनि भैरहवा सेरोफेरो रहेका कारण थप सहज भयो। त्यति बेला देश द्वन्दको चरम भुमरीमा थियो। कति बेला कहाँ के हुन्छ थाहा थिएन।
भैरहवा आएको अर्को दिन महेन्द्रसभा गृहमा राजदरबार सम्बन्धि कार्यक्रम थियो। कार्यक्रमबारे थाहा पाएर रिपोर्टिङका लागि त्यहाँ गए। र, खासै कसैलाई चिनेन। चेतन दाइले उद्घोषण गर्नु भएको थियो। उहाँका भाइ शम्भु पन्तले छायांकन गर्दै हुनुहुन्थ्यो ।
चेतन दाइ इमेज टिभीमा र शम्भु दाइ नेपाल टिभीमा काम गर्नु हुन्थ्यो। ती बाहेक माधव ढुंगाना (कान्तिपुर), कुलमणि ज्ञवाली (समाचार पत्र) र सारदा मल्ल (च्यानल नेपाल) सँग त्यही परिचय भयो। पछि, दिपेश पछाई, टिपी भुसाल र मुकेश पोख्रेलसँग परिचय भयो।
शम्भु दाइको मिलन चोकमा फोटो फेमस नामकको फोटो स्टूडियो थियो। म सँग त्यति बेला क्यामरा नभएकाले त्यही गएर कार्यक्रमको भिडियो लिन जाँदा मौकाले चेतन दाइ पनि त्यही हुनुहुन्थ्यो। उहाँसँगको परिचय पछि भिडियो दिनु भयो र काठमाडौं पठाउन विमानस्थल गए। लेखेको समाचार फ्याक्स गरी पठाए। अहिले जस्तो पहिला सहज थिएन।
त्यसदिन देखि दाइसँग सामिप्यता बढ्यो र यो क्रम बिस्तारै बढदै गयो। विभिन्न कार्यक्रममा चेतन दाइसँग हिडन थाले। चेतन दाइको ४ जनाको सानो परिवार भाउजू गंगा पन्त, छोराहरु उत्सव पन्त र उमंग पन्त। सानो परिवार सुखी परिवार ।
हिड्दा हिड्दै थाहा पाए उहाँको लगाव अनि झुकाब लुम्बिनीमा बढी थियो। उहाँ प्राय लुम्बिनी गैरहनुहुन्थ्यो। म पनि उहाँको झुकाव र लुम्बिनीप्रतिको मोह थाहा पाएर अझ बढी नजिक हुन खोज्थे। मलाई पर्यटन र अर्थतन्त्रको समाचारप्रति बढी रुची थियो। पछि आर्थिक कारोबारमा जोडिएपछि आर्थिक पर्यटन सामाचार बढी लेख्न थाले ।
चेतन दाइ देश विदेशमा भ्रमण गर्नुहुन्थ्यो। हामी उहाँको भ्रमणको स्मरण सुन्दै आफै देश बिदेश गएको अनुभव गर्थौँ। म पनि २०६३ असारबाट भैरहवामा घर बहासमा लिएरमा बस्न थाले। श्रीमती सरिता सापकोटा र छोरी अभिलाषा शर्मा (हाल क्यानाडा) लाई पनि भैरहवा बोलाएरसँगै बस्न थालियो। छोरी २ बर्षकी थिइन्।
समयक्र बढदै गयो । दाइको रुची फोटोग्राफी र डकुमेन्ट्री निर्माणमा पनि थियो। साथै चराचुरुङ्गी र तालतलैयाको भिडियो फोटोमा पनि लगाव भएकाले विभिन्न स्थानमा पुग्नुहुन्थ्यो। कति ठाउँमा म पनि सँगै जान्थे त कति ठाउँमा दाइ एक्लै गएर पछि मनोरञ्जन आज यो बनाए, हेर त भनेर देखाउनु हुन्थ्यो। म पनि हेर्थे। पछि दाइको जेठो छोरा उत्सव पन्तको अमेरिकामा डिभी परेर उतै गए। अहिले पनि अमेरिकामै छन्।
कान्छा छोरा उमंग पन्त पनि पछि अस्ट्रेलिया गएपछि घरमा दाइ भाउजु मात्रै हुनुभयो। दाइले त्यसबीचमा राष्ट्र बैंकमा सिद्धार्थनगरमा कार्यरत हुनुहुन्थ्यो। दाइले बीचबीचमा आफ्ना जिवनका रमाइला कुरा सुनाएर हसाउनु हुन्थ्यो। यसैबीचमा दाइसँगै थाइल्यान्ड २ पटक, श्रीलंक, मलेसिया भ्रमण गरे। पर्यटन प्रवर्द्धन मुख्य गरी बुद्धजन्म स्थल लुम्बिनीको थियो। त्यहाँ दाइले तयार गरेको लुम्बिनी स्स्म्बन्धी डकुमेन्ट्री, फोटोहरु प्रदर्शन हुन्थ्यो। भारतको सरावस्ती, बोधगया, कुशीनगर लगायत नेपालको पनि विभिन्न् स्थानमा धेरै पटकसँगै गयौं।
चेतन दाइ सिद्धार्थ होटल संघ (सान)को पर्यटन सल्लाहकार हुनुहुन्थ्यो भने म प्रेस सल्लाहकार थिए। सानका अध्यक्ष सिपी दाइ (चन्द्र प्रकाश श्रेष्ठ) सँगै हामी भारतको विभिन्न सहर र नेपालका धेरै स्थानमा पर्यटन प्रवर्द्धन कार्यक्रममा गएका थियौं। भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल समयमै सम्पन्न भएर संचालनमा आउन पर्छ भनेर भिडियो फोटो समाचार लेखहरुको माध्यमबाट दबाब दिई राख्नुहुन्थ्यो।
बुद्ध जन्मस्थल लुम्बिनि र बुद्ध जीवनीमा आधारित रुपन्देही, कपिलवस्तु, नवलपरासीको प्रबर्द्धनका लागि लुम्बिनीका भिक्षु मैत्री महास्थबिर पनि हामीसँगै प्राय हुनुहुन्थ्यो। दाइ र भिक्षु मैत्रीको मित्रता पहिला देखीनै थियो भने मलाइ दाइले चिनाइदिनु भएको थियो।
उहाँसँग हामी श्रीलंका गएका थियौ। समय क्रम बढदै गयो। भिक्षु मैत्रीसँग पनि सामिप्यता बढ्दै गयो। हामी तीन जना खुब मिल्थेउ । बुद्ध दर्शनका कुरा उहाँबाट सुन्थेउ। यसै क्रममा भिक्षु मैत्रीलाई आन्द्राको प्राणघातक रोग क्यान्सर देखियो। अहिले पनि उहाँ उपचारमै हुनुहुन्छ। चेतन दाइको एउटा बानी थियो पान र पान मसाला खाने र केही खाइ सकेपछि सिन्काले दात कोट्याउने। तर, स्वास्थ्यको एकदम केयर गर्नुहुन्थ्यो ।
२०७८ चैततिरको कुरा हो, चेतन दाइ र गंगा भाउजु माता बैस्णोदेवीको दर्शन गरेर फिर्ता आउँदा बनारस विश्वविद्यालय (बिएचयू) मा स्वास्थ्य परिक्षण गर्दा गिजामा क्यान्सर रहेको प्रमाणित भयो। दाइले घर परिवारको सर सल्लाहमा त्यही शल्यक्रिया गर्ने निर्णय गर्नुभयो। छोराहरु पनि आइपुगे। दाइ भैरहवा आएर शाल्यक्रियाको लागि फेरी बनारस जानुभयो। चैत अन्तिममा शाल्यक्रिया सम्पन्न भयो। र, केही समय बनारसमा नै बस्नु भयो।
नियमित परिक्षण दिल्लीमा गर्नुहुन्थ्यो र केही किमो थेरापी त्यही चढाउनु भयो। आर्थिक रुपमा अमेरिकामा रहेका छोरा उत्सवले बुवाको उपचारमा निकै मद्दत गरे। आफ्नो त्यहाँको व्यवसायको वास्ता नगरी बुवाको उपचारमा लागिरहे। अष्ट्रेलिया गएका छोरा उमंगले पनि सक्दो सहयोग गरे। उनी अष्ट्रेलिया छाडेर प्राय आमा वुवासँगै हुन्थे। गंगा भाउजुले दाइको रातदिन स्याहार गर्नुहुन्थ्यो।
२०८० जेठतिर दाइ उपचार फलोअपका लागि दिल्ली जाँदा अर्को तर्फ फैलिएको थाहा भयो। बुवा ठिक हुनु भयो भनेर बिदेश गएका छोराहरु फेरी स्वदेश फिर्ता आए। दाइ साउनमा काठमाडौ आएर हरिसिद्धी स्थित नेपाल क्यान्सर अस्पतालमा किमो थेरापी लगाउन उतै परिवार सहित बस्न थाल्नुभयो। दाइलाई बिस्तारै बिस्तारै रोगले गाल्दै लग्यो। छोराहरुले उपचारमा धेरै खर्च गरे।
गंगा भाउजुका अनुसार दाइको उपचारमा २ करोड बढी खर्च भयो। यही बीचमा मलाई पनि त्यही २०८० भदौबाट ब्यथाले (क्यान्सर) ले समात्यो। अहिले म पनि उपचारमा छु।
२०८१ असारमा दाइलाई भैरहवा घर ल्याइयो। जेठो छोरा उत्सव अमेरिकाबाट आइसकेका थिए भने कान्छा छोरा उमङ बुवा आमासँगै थिए ।
अन्ततः दाइले २०८१ श्रावण २० गते यस धर्तीबाट बिदा लिनुभयो। त्यति बेला म शाल्यक्रिया पछि काठमाडौंमै थिए। राती दाईको निधनको खबर फेसबुकमा देखेपछि खुट्टा लगलग कापे, शरिर चिसो भयो। रात भरी सुत्न सकिन। दाइ हुनु हुन्न भनेर अझै पनि बिश्वास लाग्दैन। दाई प्राय पछिल्लो समय बिहान घरमा आएर उठाउँदै सरिता ग्रीन टि बनाउ भन्नुहुन्थ्यो। अहिले पनि त्यस्तै लाग्छ । दाई आउनु हुन्छ कि भनेर। छोरा आगमनले हजुरबुवा आउनुभयो भन्थे।
स्व. चेतन दाइको तिथी अनुसार आज शुक्रबार बार्षिक पून्यतिथी हो। मैले आज सम्म दाइलाई श्रद्धाञ्जली दिन सकेको थिइन। आजै यो लेख मार्फत दाइलाई श्रद्धाञ्जली एवम भाउजु गंगा र भतिजहरु उत्सव एवं उमंगसाथै सिंगो परिवारमा सम्वेदना दिन चाहन्छु।
(विगत २ बर्ष देखि क्यान्सरको उपचार गराइरहेका लेखक शर्मा भैरहवाबाट प्रकाशित हुने न्यूज ओकेका सम्पादक हुन्)

