


काठमाडौं,१७ मंसिर। अमेरिकाले १९ गैर–युरोपेली देशका नागरिकले दर्ता गरेका ग्रीन कार्डसहितका आप्रवासनसम्बन्धी सबै आवेदन अनिश्चितकालका लागि स्थगित गरेको छ।
डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम र सार्वजनिक सुरक्षामा बढ्दो चिन्ता देखाउँदै यस्तो कदम चालिएको जनाएको छ। यसअघि जुन महिनामा आंशिक भिसा प्रतिबन्ध लगाइएका केही देशहरुलाई अब झनै कडा नीतिअनुरुप पूर्ण रुपमा अवरुद्ध गरिएको छ।

सूचीमा अफगानिस्तान र सोमालिया प्रमुख रुपमा परेका छन्। नयाँ नीतिअनुसार यी देशका नागरिकका बाँकी सबै आप्रवासन आवेदन स्थगित रहनेछन्।
गत साताको वाशिङ्टन गोलीकाण्डमा अमेरिकी नेशनल गार्डका एक सदस्यमाथि आक्रमणको आरोपमा एक अफगान नागरिक पक्राउ परेपछि १९ देशका नागरिकमाथि थप कडाइ गर्नेबारे राष्ट्रपति ट्रम्पको अभिव्यक्ति आएको थियो।
हाल ग्रीन कार्ड र नागरिकता प्रक्रिया स्थगित नै गरिएको हो।

