
धनगढी,२० पुस। सशस्त्र प्रहरी बल, नेपालले पूर्व–पश्चिम झण्डा मार्च सुरु गरेको छ।
सशस्त्र प्रहरीले संगठनको २५औं स्थापना दिवस एवं रजत महोत्सवको अवसरमा नेपालको पश्चिम सीमा नाका कञ्चनपुरको गड्डाचौकी र झापाबाट आइतबार पूर्व–पश्चिम झण्डा मार्चको सुरु गरेको हो ।
Advertisement

Advertisement
Advertisement

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रदीपकुमार पालले झण्डा मार्चमा गड्डाचौकीबाट सहभागी सशस्त्र प्रहरीलाई राष्ट्रिय र संगठनको झण्डासहित बिदाइ गरेका छन्।
संगठनको २५ वर्षलाई ऐतिहासिक अवसरलाई स्मरणीय बनाउने र राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने उद्देश्यले पूर्व–पश्चिम झण्डा मार्च सुरु गरिएको डीआईजी पालले बताए । झण्डा मार्चले सशस्त्र प्रहरीको इतिहास, योगदान र सीमा सुरक्षाको भूमिका पनि झल्काउने उनको विश्वास छ ।
मार्चमा ३५ जनाको टोलीले पैदल यात्रा गर्नेछ । गड्डाचौकीबाट सुरु भएको झण्डा मार्च सीमा क्षेत्र हुँदै १९औँ दिनमा नवलपुर पुग्नेछ। झापाबाट समेत आजैदेखि झण्डा मार्च सुरु भएको छ। पश्चिम र पूर्वबाट झण्डा मार्च गरेको सशस्त्रको टोलीले १९औँ दिनमा नवलपुरमा भेट गर्नेछ। नवलपुरमै विशेष समारोहको आयोजना गर्दै सशस्त्र प्रहरीले रजत महोत्सव मनाउने जनाएको छ।

