
लुम्बिनी, १६ माघ। थाइल्याण्ड राजपरिवारको विशेष राजसी पदमा रहेकी सिनेनाथ बिलासकल्यानीले लुम्बिनीको मायादेवी मन्दिर दर्शन गरेकी छन्। बुद्धको जीवनीसँग सम्बन्धित प्रमुख चार स्थानको भ्रमणको क्रममा बिहीवार उनी बेलहिया नाका हुँदै लुम्बिनी पुगेकी थिइन् ।
उनलाई शुक्रबार लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ र लुम्बिनी विकास कोषको योजना प्रमुख स्मिता भट्टले स्वागत गरे।
Advertisement

Advertisement
Advertisement

७० सदस्यीय प्रतिनिधिमण्डलसहित बुद्धले महापरिनिर्वाणको समयमा भनेको चार प्रमुख स्थल बोधगया, सारनाथ, कुशीनगर र लुम्बिनीको तीर्थाटनमा निस्केकी उनी भारतका तीन स्थानको दर्शनपश्चात लुम्बिनी आएकी हुन् ।
थाइल्याण्डका राजा महा वजिरालोङकोर्नबाट रोयल नोबल कन्सर्ट (राजसी सहचारी) उपाधि पाएकी सिनेनाथले शाही थाई आर्मी नर्सिङ कलेजबाट नर्सिङमा डिग्री र थाइल्याण्डको सेनामा सेवा दिएकी छिन् । उनले पैराट्रूपिङ, जंगल युद्ध, पाइलट प्रशिक्षण समेत पूरा गरेकी छन् भने सेनाको मेजर जनरल दर्जासम्म पुगेकी महिला हुन्।
२०१९ को अक्टोबरमा राजपरिवारसँग ‘अवज्ञा’ र ‘अनुपयुक्त व्यवहार’को आरोपमा उनलाई राजसी उपाधि र सैन्य दर्जा हटाइएपनि अगस्ट २०२० मा पुन: उनको उपाधि, दर्जा र सम्मान पुन:स्थापित गरिएको थियो । लुम्बिनी आएकी उनी शुक्रवार थाई एयर फोर्सको चार्टर्ड विमानमार्फत थाइल्याण्ड फर्कने कार्यक्रम रहेको बुझिएको छ ।

