
भैरहवा, १९ माघ । नेपाली कांग्रेसको रुपन्देही-३ बाट क्षेत्रिय सभापति सुशील गुरुङको उम्मेदवारीपछि पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँणले क्षेत्रमा पार्टी एकढिक्का रहेको बताएका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा खेमाका गुरुङले उम्मेदवारी दर्ता गराएर चुनावी मैदान उत्रिएपछि चुनावी टिकट छाडेका नेता खाँणबाट उम्मेदवारलाई सहयोग हुने/नहुने लगायतका विषयमा स्थानीय नेता/कार्यकर्ताबीच विभिन्न टिकाटिप्पणी सुरु भएको थियो। जसपश्चात पार्टीद्धारा सोमबार भैरहवामा आयोजना गरिएको कार्यक्रमको मञ्चबाट नेता खाँण उपस्थित भएर क्षेत्रमा पार्टी एकढिक्का रहेको सन्देश दिए ।
Advertisement

Advertisement
Advertisement

जिल्ला, क्षेत्रिय लगायत तहका नेता-कार्यकर्ता सहभागी कार्यक्रममा १ घण्टा मन्तव्य दिएका खाँणले अधिकांश समय आफ्नो चुनावी अनुभव र चुनाव लड्ने तरिकाबारे सुझावका साथ समय खर्चिए। चुनाव निकै संवेदनशील हुने भएकोले चुनावी अभियानको क्रममा उम्मेदवार सचेत भएर लाग्नुपर्ने सुझावसहित उनले उल्लेख गरे ।
चुनावी अभियानको विषयमा उल्लेख गर्दै उनले ठूला नेताको अभिव्यक्तिले पनि कहिलेकाहीँ चुनाव हारिने भएकोले आफुले कहिल्यै आफु उम्मेदवार भएको अवस्थामा सकेसम्म ठूलो नेता ल्याएर सम्बोधन नगराएको सम्झिए ।
पछिल्लो केही समययता रुपन्देही-३ मा नेपाली कांग्रेसको लहरमा वृद्धि आएकोले पार्टीलाई राम्रोको संकेत रहेको उनको भनाई छ । ‘अहिले अरु पार्टीको बढेको जस्तो मलाई लाग्दैन र हाम्रो पार्टीको राईज भएको छ त्यो राम्रो हो’,उनले भने ।
उनले नयाँ पुस्ताको गतिसिलतालाई सम्मान गर्दै नयाँ पुस्तालाई थप प्रोत्साहन र पुराना पुस्तालाई सम्मान गर्दै पार्टीलाई अगाडी बढाउन जरुरी रहेको बताए । पार्टीको क्रियाशील सदस्यताको विषयमा उल्लेख गर्दै उनले वडा कार्यसमितिले पार्टीको क्रियाशील सदस्यता नविकरण नगराएका सदस्यहरुलाई नविकरण गराउन प्रेरित गर्न आग्रह गरे ।
‘सिद्धार्थनगरको विषय’तर्फ संकेत गर्दै उनले पुराना सदस्यले नविकरण गर्नु र नगर्नुसँग आफुहरुको राष्ट्रियता, प्रजातन्त्र, पार्टीको समाजवादी विचार, दृष्टिकोण र कार्यक्रम जोडिएको भन्दै राष्ट्रियता, प्रजातन्त्र, समाजवादका लागि नविकरण नगर्नेहरुलाई क्षमता अनुसारको सम्मान हुने भनेर भन्नै पर्ने बताए ।
आफु निर्वाचनमा उम्मेदवार बनेको र विभिन्न चुनावमा होमिएको विषय सम्झिदैं उनले भने-‘मैले जतिवटा चुनाव लडे, जति वटा चुनाव हारे, पार्टीमा मेलमिलाप र एकता नभएको कारण पनि हारेको हो । पछिल्लो पटकबारे मेरो कुनै कमेन्टै छैन र म हार्दा कसैलाई दोष लगाएर कसैलाई कारवाहीको सिफारिस पनि गरेको छैन ।’
उनले अन्य क्षेत्रमा पार्टीलाई एकढिक्का बनाउने र रुपन्देही-३ मा कांग्रेस तपाईँ (उम्मेदवार) को साथमा एकढिक्का रहेको बताए ।
‘नेपाली कांग्रेस अरु क्षेत्रमा पनि एकढिक्का बनाउने हो । यो ३ नम्बर क्षेत्रमा तपाईँको साथमा एकढिक्का छ’,उनले अघि भने, ‘मेरो-सबैको साथले विजयी बन्नुहोस्, शुभकामना !’
र, यो पनि…
बालकृष्णलाई मञ्चमा राखेर सुशीलले भने–विश्वास डगमगाउन दिने छैन

