
सलमान खान । टिप्पणी
चाहना पनि कस्तो, कस्तो ? कसको के चाहना, कसको के ? मानिसको मन न हो । तर, मन भएपनि के गर्नु पदीय मर्यादालाई बिर्सिनु त भएन नि ! जसको जे काम, कर्तव्य र अधिकार हो त्यसले त्यही गर्नुपर्छ । त्यो भन्दा ‘दायाँ–बायाँ’ गर्न खोजे भविष्यको भर हुँदैन । ढर्राको पारा छाडेर आधुनिक प्रविधिमा आउनै पर्ने अवस्था छ । त्यही पाराले चल्दै आएको छु अहिले पनि त्यही पाराले चल्ने हो भने जोसुकैका लागि त्यो भूल सावित हुनेछ । समय बदलिसक्यो। आफूलाई पनि बदल्न जरुरी छ।
जनप्रतिनिधि नहुँदा पुरै हर्ताकर्ता भएर गाविस चलाएका कर्मचारीहरु पनि हाल स्थानीय तहहरुका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत छन् । र, सकेसम्म उनीहरुले उही जनप्रतिनिधि नहुँदा अवस्थाका अनुसार आफू अनुकूल पालिका चलाउन खोज्छन् । नगरपालिका भन्दा बढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरुको आफ्नै रवाफ छ ।
Advertisement

Advertisement
Advertisement

अख्तियारमा ५० प्रतिशत भ्रष्टाचारका उजुरीहरु स्थानीय तहकै छन् । कानुन अनुसार, पालिकामा उनीहरुलाई गाडी सुविधा छैन । उनीहरु जननिर्वाचित होइनन् । तर, रवाफ हेर्ने हो भने निर्वाचित जनप्रतिनिधिभन्दा बढ्ता देखिन्छ । जनताको करले उनीहरु गाडी चढ्छन् । मनलाग्दी स्थानमा गाडीमा लिएर घुमघाम देखि रमाईलो साँझमा पनि रमाउँछन् । के तलबले पुग्छ ? महत्वपूर्ण प्रश्न हो यो ? अस्वाभाविक जीवन शैली जीवनेहरुको सम्पत्ति शुद्धिकरण गर्नु एकदम आवश्यक छ ।
अब आउँ मुख्य कुरो तिर । आजदेखि रुपन्देहीको ओमसतिया गाउँपालिकाको कार्यालयले चौथो अध्यक्ष कप (क्रिकेट प्रतियोगिता) को आयोजना गरेको छ । तर, वर्षौदेखि लाखौं खर्चिएर पालिकाले आयोजना गर्दै आएको खेलबाट कुनै राष्ट्रिय क्रिकेट खेलाडीको उत्पादन गर्न सकेको छैन । वर्षैपिच्छे बजेट दोहनले प्रतियोगिता मनोरञ्जनमा मात्र सीमित छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा गम्भिर दृश्यपनि देखियो । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरुको तस्विर अंकित ब्यानर कार्यक्रमको मञ्चमा लगाइएको थियो । तर, सोही ब्यानरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीको तस्विर समेत समावेश गरिएको पाइएको छ ।

त्यती मात्र होइन् प्रतियोगिताको मञ्चमा गाउँपालिका अध्यक्ष मन्जितकुमार यादवसँग प्रशासकीय अधिकृत पन्थी एउटै रोमा समान हैसियत झल्किने गरी पनि बसेको पाइएको छ । यो प्रशासनिक मर्यादामाथि गम्भीर प्रश्न हो । यो केवल ओमसतिया गाउँपालिकाको विषय होइन । अन्य पालिकाहरुको कार्यक्रममा पनि आफ्नो पदीय मर्यादा/हैसियत बिर्सिएर प्रमुख प्रशासकीय अधिकृतहरु अध्यक्ष/मेयरसँगको सामान हैसियत खोज्दै बस्ने गरेका छन्। यति सम्मकी सम्मानित गाउँ/नगर सभामा समेत प्रमुख प्रशासकीय अधिकृतहरु समानान्तरमा रुपमा सरकार प्रमुखकै छेउमा बस्ने गरेका छन् ।
तर, प्रमुख प्रशाकीय अधिकृतले यो बिर्सिनुहँदैन कि अध्यक्ष/मेयर जननिर्वाचित प्रतिनिधि भएकोले उनीहरु नै नेता हुन् । उनीहरुले बनाएको नीति, कानुन कार्यान्वयन र प्रशासनिक कामकाज सञ्चालन मात्र आफुले गर्ने भन्ने विषयमा प्रमुख प्रशासकीयहरुको बुझाई स्पष्ट हुनुपर्छ ।
सार्वजनिक कार्यक्रमको ब्यानरमा निर्वाचित जनप्रतिनिधिहरुको तस्विर राख्नु राजनीतिक तथा नीतिगत नेतृत्वको सन्दर्भमा सामान्य अभ्यास मानिए पनि प्रशासनिक कर्मचारीको तस्विर राख्नु उपयुक्त नहुने स्थानीयको धारणा छ । त्यसो त सरकारी बजेटबाट सार्वजनिक कार्यक्रममा जनप्रतिनिधि भएतापनि व्यक्तिगत प्रचारप्रसार गर्न नहुने कतिपयको भनाई छ ।
नेपालको संविधान २०७२ ले सार्वजनिक प्रशासनलाई राजनीतिक रुपमा तटस्थ र पेशागत मर्यादामा आधारित रहने परिकल्पना गरेको छ । निजामती सेवा ऐन २०४९ तथा निजामती कर्मचारी आचारसंहिताले कर्मचारीलाई राजनीतिक गतिविधि, प्रचारमुखी प्रस्तुति र पदको दुरुपयोगबाट टाढा रहन स्पष्ट निर्देश गरेको छ ।
कर्मचारीको मूल धर्म भनेको सार्वजनिक पदको गरिमा, तटस्थता र निष्पक्षता हो । न कि सार्वजनिक रुपमा राजनीतिक नेतृत्वसरह प्रस्तुत हुनु । प्रमुख प्रशासकीयहरु नीति निर्माण गर्ने वा राजनीतिक नेतृत्व गर्ने हैसियतका व्यक्ति होइनन् । सार्वजनिक बजेटबाट सञ्चालित कार्यक्रमको ब्यानरमा कर्मचारीको तस्विर किन ? मञ्चमा राजनीतिक नेतृत्वसँग समानान्तर हैसियतमा प्रस्तुत हुनुको सन्देश के हो ? के यो प्रशासनिक भूमिकाको सीमाभन्दा बाहिरको प्रस्तुति होइन ?
मञ्चको रो केवल कुर्सी/सोफा होइन, प्रतीक हो । ब्यानरको फोटो केवल तस्वीर होइन, सार्वजनिक सन्देश हो । जब प्रशासनिक प्रमुख राजनीतिक नेतृत्वसँगै ‘समान अनुहार’ का रुपमा प्रस्तुत हुन्छन्, त्यसले तटस्थताको सन्देश कमजोर बनाउँछ ।

कानुनले ‘एउटै रोमा बस्न पाइँदैन’ भनेर ठाडो निषेध नगरे पनि शासन प्रणाली केवल कानुनका अक्षरले मात्र चल्दैन त्यसको आत्मा पनि हुन्छ । विषय कानुनी प्राविधिकताभन्दा ठूलो छ-यो संस्थागत संस्कारको विषय हो । सुशासनको आधार भनेको राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रबीच स्पष्ट सिमाना हुनु हो । जब कर्मचारी सार्वजनिक रुपमा नेतासरह प्रस्तुत हुन थाल्छन्, त्यो सिमाना धमिलो हुन्छ।
स्थानीय तह लोकतन्त्रको सबैभन्दा नजिकको सरकार हो । यहाँ देखिएको अभ्यासले सुशासनको स्तर मापन गर्छ । सानो अभ्यासले पनि ठूलो सन्देश दिन्छ । कर्मचारी पन्थी प्रशासनिक प्रमुख हुन् , सह-राजनीतिक नेतृत्व होइनन् । यो कुनै व्यक्ति विशेषमाथिको आक्षेप होइन । यो संस्थागत संस्कार र प्रशासनिक मर्यादाको प्रश्न हो । आज मञ्च र ब्यानरको विषय सानो देखिएला, तर यसले संस्थागत संस्कार कता जाँदैछ भन्ने संकेत दिन्छ । कर्मचारीले कर्मचारीकै मर्यादा जोगाउनुपर्छ, नेताले नेताकै । लोकतन्त्रको स्वास्थ्य त्यहीँबाट सुरु हुन्छ ।
(पाठकवर्गमा हाम्रो आह्वान–ओमसतिया गाउँपालिकाको कार्यालयले सम्पादन गर्ने कार्यहरुमा भ्रष्टाचार बढ्दो अवस्थामा रहेको गुनासोहरु प्राप्त भइरहेकोले यदि कसैसँग अनियमितता/भ्रष्टाचारसम्बन्धीको प्रमाण वा बेथितीसम्बद्ध कुनै पनि प्रकारको सूचना छ भने हामीलाई उपलब्ध गराउनसक्नु हुनेछ । साथै, अन्य कुनै पनि निकाय (सरकारी समेत) भएपनि प्राप्त प्रमाण वा सूचना अनुसार खोजबिन गरेर तथ्यमा आधारित समाचार प्रकाशित गर्नेछौं ।-सं.)

