

काठमाडौं,२३ असार। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र २०८४ ‘ङ’ निष्कासनका लागि बोलकबोल आह्वान गरेको छ। बैंकले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक सहभागीले अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन्।
बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
Advertisement

Advertisement
Advertisement
बोलकबोल गर्दा सहभागी संस्थाले आफूले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ। ब्याजदर दशमलवपछिका चार अंकसम्म उल्लेख गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल २५ अर्ब रुपैयाँसम्म, ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने व्यवस्था छ।
राष्ट्र बैंकका अनुसार प्राप्त बोलमध्ये सम्पूर्ण वा आंशिक रकम स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ।
ऋणपत्र निष्कासनका शर्तअनुसार तोकिएको अवधिमा ब्याज भुक्तानी तथा परिपक्व भएपछि साँवा रकम सम्बन्धित काउण्टरपार्टीको राष्ट्र बैंकमा रहेको खातामा जम्मा गरिने पनि सूचनामा उल्लेख गरिएको छ।





