


काठमाडौं,२३ असार। नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिन्हको अनधिकृत र गैरसंस्थागत प्रयोग नगर्न निर्देशन दिएको छ।
संस्थाको छविमा नकारात्मक असर पर्ने गरी विभिन्न तहमा सवारी साधनको दुरुपयोग भइरहेको भन्ने गुनासो बढेपछि रेडक्रस केन्द्रीय कार्यालयले यस्तो अपिल जारी गरेको हो।

रेडक्रसद्वारा जारी सूचनाअनुसार, संस्थाका सम्पत्तिहरु मानवीय सेवा, राहत तथा उद्धार, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र रक्तसञ्चारलगायत स्वीकृत संस्थागत कार्यमा मात्र प्रयोग गर्नुपर्ने आग्रह गरेको छ।
उक्त सूचनामा भनिएको छ, ‘नेपाल रेडक्रस सोसाइटीका नाममा रहेका कतिपय सवारी साधन र एम्बुलेन्सहरु व्यक्तिगत, पारिवारिक, व्यावसायिक वा राजनीतिक प्रयोजनमा प्रयोग भएको भन्ने सरोकारवालाहरुको टिप्पणी र सञ्चारमाध्यममा आएका समाचारप्रति संस्थाको ध्यानाकर्षण भएको छ । यस्ता गैर-संस्थागत कार्यहरु पूर्ण रुपमा निषेध गरिएको छ ।’
सूचनामा संस्थाको नियम, नीति तथा आचारसंहिता विपरीत सवारी साधन वा एम्बुलेन्स प्रयोग गरेको पाइए सम्बन्धित व्यक्ति वा निकायलाई आवश्यक कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

