


काठमाडौं,२३ असार। संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १ सय ११ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ।
ईद अल–अधा २०२६ को अवसरमा यूएई सरकारले १ सय ११ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यूएई सरकारको उक्त निर्णयप्रति आभार व्यक्त गरेको छ।

विज्ञप्तिअनुसार परराष्ट्र मन्त्रालयको निर्देशनमा अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष गरेको अनुरोधका आधारमा यूएई सरकारले १ सय ११ नेपाली कैदीलाई आममाफी दिने निर्णय गरेको हो ।
आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरु नेपाल फर्कन सक्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपाल र यूएईबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बन्दै गएको सन्दर्भमा यो आममाफीको निर्णयलाई सद्भावको महत्त्वपूर्ण प्रतीकका रुपमा लिइएको छ।

