

काठमाडौं,१६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ।
अध्यक्ष पद रिक्त भएपछि भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) अनुसार मन्त्रालयले आवेदन आह्वान गरेको थियो। आवेदन दिएका उम्मेदवारमध्ये १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरी प्रक्रिया अघि बढाइएको थियो।

अन्तर्वार्तामा सहभागी सबै उम्मेदवारको मूल्याङ्कनपछि विज्ञ टोलीले अध्यक्ष पदका लागि सिग्देलको नाम सिफारिस गरेको थियो। विज्ञ टोलीको सिफारिसका आधारमा उनलाई भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।



