


भैरहवा, ७ असार । घटना १ : रुपन्देहीको तिलोत्तमा नपा–१७ दरखसवाका रामपृत मल्लाह लगायतले सार्वजनिक जग्गाको विवादमा सोही स्थानका जंगबहादुर यादवलाई ०६२ पुस २५ गते गोली हानेर हत्या गरी फरार भए । कसैलाई शंका नलाग्ने गरी यादव भारतको देहात क्षेत्रमा कृषि पेशा अंगालेर जीवनयापन गर्न थाले । लामो समय भारत बसेपछि नेपालमा रहेका श्रीमती र छोरासमेतलाई भारतमै लगेर बसोबास गर्ने योजना बनाए । त्यसैअनुरुप उनी नेपाल प्रवेश गरेलग्त्तै प्रहरीको ‘वान्टेड’ सूची रहेका यादवलाई प्रहरीले १८ वर्षपछि सीमानाका बेलहियामा समात्न सफल भयो । उनी विरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान पुनः सुरु गरिएको छ ।
घटना २ : ०६६ मंसिर २२ गते कोटहीमाई गापा–३ मर्यादपुर स्थित जे.एम ईट्टा उद्योगको सिलायन्स गर्ने दिन सचालक वीरेन्द्र जैसवालले पुजाआजा गर्ने नाममा सोही स्थानको सात वर्षीया बालिकाको हत्या गरे । राजनीतिक आवरणमा समाजमा स्थापित जैसवाललाई प्रहरीले कर्तव्य ज्यानको आरोपमा पक्राउ गर्यो । ०६८ कार्तिक २८ गते जिल्ला अदालत रुपन्देहीले जैसवालको विरुद्धको कसुर ठहर गर्दै दुई वर्ष कैद सजाएको फैसला सुनायो । जैसवाल दुई वर्ष सजाए भुक्तान गरेर कारागारबाट निस्किए । जिल्ला अदालतको फैसला चित्त नबुझेपछि पीडित परिवारले तत्कालिन पुनरावेदन अदालत बुटवलमा फैसला पुनरावेदनका लागि प्रक्रिया अगडी बढाए । ०६९ पुस १५ गते पुनरावेदन अदालतले जिल्ला अदालतको फैसलालाई उल्टाउँदै जैसवाललाई १० वर्ष कैद सजाएको फैसला गर्यो । पुनरावेदन अदालतको फैसलाविरुद्ध जैसवाल सर्वोच्च अदालत पुगे । ०७६ जेठ २७ गते सर्वोच्चले पुनरावेदन अदालतकै फैसला सदर गरिदियो । त्यसता उनी राजनीतिक आवरणमै स्वतन्त्र रुपमा कामकाज गर्दै आएका थिए । ‘वान्टेड’हरुको सूची लिएर अहिले गाउँटोलहरुमा गोप्य रुपमा डुलिरहेको प्रहरीले उनलाई पनि पक्राउ गरेर अदालत हुदै कारागार पठायो ।

घटना ३ : ०५२ माघ ९ गते रुपन्देहीको बुटवल उपमनपा–७ दिपनगरका विष्णु गुरुङले सोही स्थान (स्थायी कास्की पोखरा) का सन्तबहादुर गौचनमाथी कुखुरी प्रहार गरेर संघातिक आक्रमण गरे । ज्यान मार्ने उद्योगमा प्रहरीले गुरुङलाई पक्राउ गर्यो । रुपन्देही जिल्ला अदालतले दुई हजार धरौटीमा छाडिदियो । त्यसपछि उनी कहिल्यै अदालतमा गएनन् । ०५६ असार १५ गते अदालतले उक्त मुद्दामा प्रतिवादी गुरुङलाई ५ वर्ष ५ महिना ७ दिनको कैद सजाएको फैसला सुनायो । धरौटीमा छुटेर फरार गुरुङ ०५४ साल देखि ०७३ सालसम्म पश्चिम नेपाल बस व्यवसायी समिति बुटवलको शाखा सहायकको रुपमै काम गरे । २० वर्षको जवानीमा अपराध गरेका गुरुङलाई प्रहरीले करिब २५ वर्षपछि पनि पक्राउ गरेर सजाए भुक्तानका लागि कारागार चलान गरायो ।
यी केही प्रतिनिधिमुलक घटनाहरु मात्र हुन् । अदालतबाट दोषी ठहर भएर कैद वा जरिवाना वा दुवै सजाए तोकेर सजाए भुक्तान नगरेका फरार प्रतिवादीलाई पछिल्लो समययता रुपन्देही प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । अदालतको फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी खोजीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरी निरीक्षक किशोर के.सी.को कमाण्डमा विशेष टोली गठन गरी गाउँगाउँमा परिचालन गरेको छ । विभिन्न मुद्दाका पुराना फाइलहरु पल्टाउन सुरु गरिएको छ । तिव्र रुपमा सूचना संकलन र अनुसन्धान भइरहेको छ । ३०/४० वर्ष देखिका फरार प्रतिवादीहरुलाई पनि पक्राउ गर्न थालिएको छ । मातहतका प्रहरी ईकाईहरुलाई फरार प्रतिवादीहरुको सूची उपलब्ध गराएर सूचना संकलनका साथै दैनिक प्रगतिबारे ‘अपडेट’ लिन थालिएको छ । जसकारण फरारको लगत कट्टा समेत तिव्र रुपमा भइरहेको छ ।
‘फौजदारी अपराधको कसुर ठहर भएर सजाए पाएका व्यक्तिहरु समाजमा घुमिराख्नु शान्ति सुरक्षामा चुनौतीको विषय हो’ रुपन्देहीका एसपी रंजितसिंह राठौरले क्लिक लुम्बिनीसगँ भने, ‘जसप्रति अभियान नै चलाएर हामी निर्मम रुपमा उत्रिएका छौँ ।’ प्रहरीले अदालतबाट फैसला भएका फौजदारी र देवानी दुवै प्रकृतिको मुद्दामा फरार प्रतिवादीहरुलाई पक्राउ गरिरहेको छ ।
दशकौँ अघि फरार प्रतिवादीको हुलिया, व्यक्तिगत पहिचान, पेशा, ठेगाना लगायत परिवर्तन गरेर बस्ने गरेकोले उनीहरुलाई पक्राउ गर्नमा चुनौती रहेपनि प्रहरी दिनरात खटेर कार्यसम्पादन गरिरहेको उनी बताउँछन् । कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने उद्देश्यले चलाइएको अभियान अन्र्तगत दैनिक जसो फरार प्रतिवादीहरुलाई पक्राउ गरेर सजाए भुक्तानका लागि अदालतमा पेश गर्ने कार्य भइरहेको उनले सुनाए ।
पक्राउ परेका फरार प्रतिवादीहरु लागुऔषध मुद्दाको ६४ जना, सवारी ज्यानको ४५, कुटपिट लुटपिटको ३९, सार्वजनिक अपराधको ३५, कुटपिट अंगभंगको १५, चोरी मुद्दाको १४ जना लगायत मुद्दाका रहेका छन् । ‘नसुल्झिएका, आरोपी फरार रहेका, संग्लन पहिचान नभएका हुन सक्ने पुराना फाइलहरु पनि अध्ययन गर्न सुरु गरेका छौँ’ एसपी राठौरले भने, ‘कर्तव्य ज्यानमुद्दा घटनामा फरार रहेको आरोपीलाई १८ वर्षपछि पक्राउ गर्न जुन सफल भयौँ, त्यो यसैको उपज हो ।’
प्रहरीका अनुसार चालु आर्थिक वर्ष एक हजार सात बाह् जना फरार प्रतिवादीहरुको लगत कट्टा भएको छ । अभियान चलाएपछि यसमध्ये करिब ७० प्रतिशत पछिल्लो चार महिनामा मात्र पक्राउ परेका/अदालतमा आफै उपस्थित भएका हुन् । कुल संख्या मध्ये विभिन्न ३६ किसिमको मुद्दामा फरार ३ सय ३७ जना प्रतिवादीलाई पक्राउ गरिएको छ । फरार ३ सय ३७ जनालाई पक्राउ गरी ११७ वर्ष ९ महिना ३ दिन कैद र १ करोड ६६ लाख ८० हजार बढी रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं सूचना अधिकारी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
‘प्रहरी–सामुदायिक साझेदारी कार्यक्रम अन्र्तगत हामीले समुदायस्तरमा चेतना अभिवृद्धि गरिरहेका छौँ’ उनले भने,‘जसकारण हामीलाई समुदायस्तरबाट फरार प्रतिवादीहरुको विषयमा सूचना समेत आइरहेको र पाएको सजाएको विषयमा जान/अन्जानमा रहेका केही फरार प्रतिवादीहरु आफै पनि अदालतमा उपस्थित भइरहेका छन् ।’ उनले थपे–‘अदालतबाट कुनै मुद्दाको कसुरमा केही दिन कैद सजाए वा थोरै मात्र जरिवाना वा थोरै मात्रामा दुवै सजाए फैसला भएको विषयमा वेवास्ता कारण केही व्यक्तिहरुको अनविज्ञ रहेको पाइएको छ । फैसलालाई वेवास्ता गरेर बसेका व्यक्तिहरु अभियानले गर्दा अदालतमा गएर आफ्नो मुद्दाको फैसलाबारे जानकारी समेत लिइरहेका छन् ।’
रुपन्देही जिल्ला भारतसगँ सीमाना जोडिएको जिल्ला पनि हो । खुल्ला सीमानाका भएकोले अपराधीले अपराध गरेर छिमेकी मुलुकमा फरार हुदाँ घटनाको अनुसन्धान प्रभावित समेत हुने गरेको छ । तर, सीमासगँको अपराधसँगै जिल्लामा शान्ति सुरक्षा कायम राख्नका लागि दुवै मुलुकका स्थानीय प्रशासन, प्रहरीहरु समय–समयमा बैठक बसेर सुरक्षा चुनौतीको विश्लेषण गरी संयुक्त कार्ययोजना समेत बनाएर अघि बढ्दै आएका छन् ।
‘फैसला कार्यान्वयनको सिलसिलामा पनि हामी भारतीय प्रशासनसगँ समय–समयमा बैठक गरिरहेका छौँ’ डिएसपी भट्टले क्लिक लुम्बिनीसगँ भने, ‘शान्ति सुरक्षा कायम राख्नका लागि सूचना आदानप्रदानसँगै दुवै पक्षबाट आवश्यक सहजीकरण समेत भइरहेको छ । जसले गर्दा हामीलाई अदालतको फैसला कार्यान्वयन गर्नमा केही सहजता पनि भएको छ ।’

