


काठमाडौं, २४ साउन । वैदेशिक रोजगारीका लागि दुबई (यूएई) गएका नेपालीहरुले त्यहाँ रक्सी सेवन गरेर होहल्ला-झैझगडा गर्न थालेपछि दुबईस्थित नेपाली राजदूतावासले दुबई कानुनको पालना गर्न अनुरोध गरेको छ ।
नेपाली दूतावास अवुधावीले एक विज्ञप्ति जारी गर्दै यूएई सरकारले आफूहरूलाई उक्त कुराको जानकारी दिएको भन्दै सचेत गराएको छ। यसअघि पनि दूतावास परिसरबाहिर मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्ने, अराजक व्यवहार गर्ने, दूतावासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि समेत अपशब्द प्रयोग गर्ने काम भएको बताएको छ ।

दूतावासका सुरक्षाकर्मीलाई अपदशब्द प्रयोग गर्ने गरेको यूएई सरकारका तर्फबाट डयुटीमा खटिएका सुरक्षाकर्मीका सूचनाका आधारमा यूएई प्रहरीले कारबाही गरेको समेत दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
सबै नेपाली कामदारहरू सद्भावना कामदारका रूपमा रहेकोले ‘यूएईको ऐन, कानुन, नियम मूल्यमान्यताको पूर्ण पालना गरी सोहीअनुरुप व्यवहार गरिदिनुहुन यूएईमा बस्नुहुने सम्पूर्णमा राजदूतावास हार्दिक अनुरोध गर्दछ’, दूतावासले भनेको छ । करिब दुई सय नेपाली यूएईको जेलमा छन्।

