


सर्लाही,२२ असोज । प्रहरीलाई कुटपिट र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ।
वडाध्यक्ष दासलाई सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

वडाध्यक्ष दासको नेतृत्वमा गत असोज १७ गते साँझ प्रहरी चौकी गोडैतामा ढुंगामुढा गरेको र प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोप छ । आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक अवधेशप्रसाद यादवको अगाडिको माथिल्लो दुईवटा दाँत झरेको डीएसपी राईले बताए। आक्रमणबाट प्रहरी चौकीमा कार्यरत अन्य ५ जना सुरक्षाकर्मी समेत घाइते भएका छन्।
दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा गोडैता नगरपालिका–७ मा स्थानीय कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका–५ का अनिल राय यादव लगायतले कुटपिट गरेका थिए। कुटपिट गरेको आरोपमा पक्राउ परेका अनिललाई प्रहरी चौकीमा राखिएको अवस्थामा कारिलको पक्षबाट आएका वडाध्यक्ष दाससहितको टोलीले प्रहरी चौकीमा आक्रमण गरेका थिए।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका दासमाथी कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वडाध्यक्ष दासलाई पक्राउ गरिएको विरोधमा बुधबार बिहानैदेखि गोडैता बजार बन्द गराइएको छ ।

