


भैरहवा, १७ फागुन। प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौरव बोहराले भैरहवा–लुम्बिनी भूमिगत जल (भैलुभूज) परियोजनाको पुन:संरचनामा जोड दिने प्रतिवद्धता जनाएका छन्।
हाल उक्त परियोजना प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दाले अपेक्षित लाभ लिन सकेका छैनन्। रुपन्देहीमा भैलुभूज परियोजना ल्याउन राप्रपा नेता स्व. दीपक बोहराको महत्वपूर्ण भूमिका रहेको थियो। परियोजनाले एक समय कृषि क्षेत्रमा सिँचाइ व्यवस्थापन सहज बनाउँदै किसानलाई ठूलो राहत पुर्याएको थियो। साथै, विभिन्न गाउँमा सडक सञ्जाल विस्तारमा समेत सहयोग पुगेको थियो।

तर, प्रभावकारी सञ्चालन अभावमा परियोजनाबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेको अवस्थामा स्व. दीपक बोहराका छोरा तथा उम्मेदवार गौरव बोहराले यसको पुन:संरचना र पुनरुत्थानमा विशेष पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।
चुनावी भेटघाटका क्रममा उनले खानेपानी र सिँचाइ दुवै दृष्टिले महत्वपूर्ण मानिएको यो परियोजना अहिले पुनरावलोकन र सुधारको खाँचोमा रहेको बताए।
‘भैरहवा–लुम्बिनी भूमिगत जल परियोजना रुपन्देही–३ का लागि रणनीतिक महत्व बोकेको योजना हो,’उम्मेदवार बोहराले भने,‘निर्वाचित भएमा स्वर्गीय बुवाले ल्याउनु भएको यस परियोजनालाई प्रभावकारी रुपमा पुन: सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन तथा नीतिगत पहलका लागि अग्रसर हुनेछु।’
उनका अनुसार बढ्दो जनसंख्या, तीव्र शहरीकरण तथा कृषि क्षेत्रको बढ्दो आवश्यकतालाई ध्यानमा राखी दीर्घकालीन योजना तयार गर्नु अपरिहार्य छ। परियोजनाको मर्मत–सम्भार, पाइपलाइन सञ्जाल विस्तार तथा वितरण प्रणाली सुधारमा विशेष प्राथमिकता दिइने उनले स्पष्ट पारे।
र, यो पनि…
सम्झनामा दीपक बोहरा: भैलुभूज, दीपनगर‘
दीपक बोहरा: जसलाई नागरिकले पञ्चायतदेखि गणतन्त्रसम्म पत्याए

