


काठमाडौं,१८ असार। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार, जुत्ता, पाइन्ट, साडी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस एक्सरे गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना बरामद भएको हो।

बरामद सामग्री युनिक कार्गो बौद्धले एपेक्स लजिष्टिकमार्फत काठमाडौँबाट अमेरिका पठाउन लागिएको प्रारम्भिक अनसुन्धानबाट खुलेको उनले बताए।
प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ।
उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

