


काठमाडौं,३२ असार । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निजी शैक्षिक संस्थामा लागू गर्न लागिएको ३ प्रतिशत शिक्षा समता शुल्क तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
नेविसंघको अध्यक्ष करुणा कटुवालले जारी गरेको विज्ञप्तिमा उक्त शुल्कले विद्यार्थी र अभिभावकमाथि थप आर्थिक भार पर्ने भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरिएको छ।

शिक्षामा समानताको नाममा अतिरिक्त शुल्क लगाउनु उचित नभएको नेविसंघको धारणा छ। संघले समताको अवधारणालाई आधार बनाएर नागरिकमाथि थप शुल्कको भार थोपर्नु राज्यको कल्याणकारी चरित्र अनुकूल नभएको उल्लेख गरेको छ।
यसअघि निजी विद्यालयका छाता संगठनहरुले पनि उक्त शुल्क व्यवस्थाप्रति असहमति जनाउँदै विरोध जनाउँदै आएका छन्।

